गुल्मी र पाल्पामा पहिरो: मदनभण्डारी र सिद्धार्थ राजमार्ग अवरुद्ध
गुल्मी/पाल्पा, २० साउन
गुल्मी र पाल्पामा लगातारको वर्षाका कारण विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। पहिरोका कारण मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक पूर्ण रूपमा बन्द भएको हो।
रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रेभीरमा खसेको पहिरोले सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो। हाल सो सडकखण्डमा सडक फराकिलो बनाउने कार्य भइरहेको छ, जसले गर्दा पहिरोको जोखिम झनै बढेको छ।
यसैबीच, आज बिहानदेखि अवरुद्ध भएका कालीगण्डकी करिडोर, रिडी–वामीटक्सार, र रिडी–खज्र्याङ सडकहरू सञ्चालनमा आएका छन्, जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो।
जिल्लामा पछिल्ला तीन दिनदेखि निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
सिद्धबाबा क्षेत्रमा ठूला पहिरो, पाल्पा–बुटवल सडक अवरुद्ध
सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। विशेषगरी सिद्धबाबा क्षेत्रका तीन स्थानमा ढुङ्गासहितको ठूलो पहिरो खसेको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो।
तिनाउ गाउँपालिका–३ दोभान प्रहरीचौकी नजिकै खसेको पहिरोका कारण सोमबार साँझदेखि सडक अवरुद्ध भएको हो। लगातारको वर्षाले पहिरो पन्छाउने काममा कठिनाइ भइरहेको छ।
सोमबार दिउँसो एकतर्फी सवारीसाधन चलाइएको भए पनि रातिदेखि पुनः सडक पूर्ण रूपमा बन्द भएको हो। यसले गर्दा स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी र अर्घाखाँचीबाट बुटवलतर्फ गइरहेका सवारीसाधन बाटोमै रोकिएका छन्।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सडक आसपासका क्षेत्रहरूमा पहिरो खस्ने जोखिम अझै उच्च रहेको भन्दै स्थानीयवासी र यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

