हिन्दू र बौद्ध धर्मको साझा आस्था: गोसाइँस्थानमा मेला, तीर्थाटन र पर्यटकीय चहलपहल
काभ्रेपलाञ्चोक, २० साउन
महत्त्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा चिनिएको काभ्रेको बनेपास्थित गोसाइँस्थानमा यस वर्षको जनैपूर्णिमा तथा रक्षाबन्धनको भव्य मेला शनिबार आयोजना हुँदैछ। रसुवाको गोसाइँकुण्डसँग धार्मिक महत्त्व जोडिएका कारण पनि यो स्थललाई हिन्दू र बौद्ध समुदायको साझा तीर्थस्थल मानिन्छ।
प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमामा गोसाइँस्थानमा शिव मन्दिरमा पूजा–आराधना, जनै धारण र रक्षाबन्धन लगाउने चलन छ। मेलामा काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर र सिन्धुपाल्चोक लगायत जिल्लाबाट हजारौं भक्तजन आउने गरेका छन्।
गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहका अनुसार, “लकडाउनपछि यहाँ आउने भक्तजनको सङ्ख्या झन् बढेको छ। यो वर्ष मेला थप व्यवस्थित र आकर्षक बनाउने तयारी छ।”
स्थानीयका भनाइअनुसार, रसुवाको गोसाइँकुण्डसम्म जान नसक्नेले बनेपाको गोसाइँस्थानमा स्नान र दर्शन गरे पनि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। समुद्र सतहबाट करिब १४ हजार फिट उचाइमा रहेको गोसाइँकुण्डमा पुग्न कठिन भएकाले गोसाइँस्थान वैकल्पिक तीर्थस्थलका रूपमा लोकप्रिय हुँदै गएको हो।
मेलामा तामाङ र नेवार समुदायले छुट्टाछुट्टै परम्पराअनुसार पूजा र संस्कार गर्ने, झाँक्रीहरूले ढ्याङग्रो बजाउने, नेवारहरूले अन्तपात चढाउने र ब्राह्मणहरूले जनै र रक्षाबन्धन बाँध्ने प्रचलन छ। साथै मेलामा तामाङ दोहोरी गीत र सांस्कृतिक नाचगान गरी रमाइलो गर्ने चलन पनि छ।
गोसाइँस्थान क्षेत्रलाई धार्मिक मात्र नभई पर्यटकीय केन्द्रका रूपमा पनि विकास गरिएको छ। दृश्यावलोकन स्तम्भ (टावर), नयाँ मुक्तिनाथ र हनुमान मन्दिर, रामायण भजन मण्डप, पक्की शौचालय र बगैंचा निर्माणले यहाँको आकर्षण बढाएको छ।
स्थानीय दीपक कार्कीका अनुसार, “सडक, सिँढी र अन्य पूर्वाधार विस्तार भएपछि हरेक शुक्रबार र शनिबार घुम्न र दृश्यावलोकन गर्न आउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।”
धुलिखेल–रविओपी–काशीभञ्ज्याङ पक्की सडक सम्पन्न भइसकेको र यहाँबाट हाइकिङ गर्दै नगरकोट पुग्न सकिने भएकाले गोसाइँस्थान आन्तरिक तथा विदेशी पर्यटकको गन्तव्य बन्दै गएको छ।

