मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व आरम्भ, घोडा सवारी र सामूहिक पूजासहित मनाइयो
📍 मुस्ताङ, २० साउन
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सदियौँदेखि मनाइँदै आएको सांस्कृतिक पर्व ‘यार्तुङ’ यस वर्ष पनि उल्लासपूर्वक सुरु भएको छ। वडानम्बर १ खिङ्गा गाउँबाट औपचारिक रुपमा पर्वको आरम्भ गरिएको हो।
स्थानीयले हर्षोल्लासपूर्वक पूजाआजा, घोडा सवारी, सांस्कृतिक गीत, नृत्य र सामूहिक भोजन गरी पर्व मनाएका छन्। ‘यार’ को अर्थ बर्खा र ‘तुङ’ को अर्थ समाप्ति भन्ने जनविश्वास अनुसार बर्खायामको अन्त्य र हिउँदयामको प्रारम्भको संकेतस्वरूप यार्तुङ पर्व मनाउने प्रचलन रहेको छ।
खिङ्गा गाउँका स्थानीय पुरुषहरू घोडामा सवार भई मुक्तिनाथ मन्दिर र नरसिंह गुम्बाको दर्शन गर्न निस्किएका थिए भने महिलाहरू घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङ गीत गाउनाउँदै अघि बढेका थिए।
स्थानीय याङजुङ गुरुङका अनुसार, “यार्तुङमा घोडा नचढे पर्व अपूर्ण मानिन्छ। तारा खेल्ने, घोडा चढ्ने र सांस्कृतिक मौलिकता देखाउनाले मात्र यार्तुङको औचित्य पूरा हुन्छ।”
गाउँकी सेर्केनी गुरुङका अनुसार, यार्तुङका गीतलाई ‘फेन्दुन छोकी रिला’ भनिन्छ। गीतमा “यार्तुङ आयो, सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस्, शान्ति छाओस्”, जस्ता शुभकामनासमेत समावेश गरिन्छ।
यार्तुङ पर्व अन्तर्गत खिङ्गाबाट निस्किएको दर्जनौँ घोडाको लस्कर मुक्तिनाथ पुगेर दर्शनपछि पुराङ रानीपौवामा फर्किएको थियो। युवाहरूले त्यहाँ साहसिक घोडा दौड प्रदर्शन गरेका थिए। दुर्घटनाको सम्भावना भएकाले एक घण्टासम्म सवारी साधन आवागमन रोकिनु परेको थियो।
गाउँको गुम्बामा सामूहिक पूजापाठपछि समाजघरमा भोजन गरिएको थियो। पुजारीले भोजन नगरेसम्म अरूले खान नपाउने प्रचलन अझै पनि कायमै रहेको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।
उहाँले थपे, “यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिन्छ। यो पर्व हाम्रो मौलिक सांस्कृतिक पहिचान हो।”
वारागुङ मुक्तिक्षेत्रका १९ वटै गाउँ तथा उपल्लो मुस्ताङका विभिन्न स्थानहरूमा फरक–फरक तिथिमा यार्तुङ पर्व मनाइने प्रचलन छ। खिङ्गाबाट सुरु भएको पर्व क्रमशः अन्य गाउँमा पनि मनाइनेछ।

