अविरल वर्षाले मुगुको चराप गाउँमा ९ घर भत्किए

📍 मुगु,  २० साउन

अविरल वर्षाका कारण मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१० स्थित चराप गाउँमा ९ घरमा क्षति पुगेको छ। क्षतिग्रस्त घरमध्ये ४ घर पूर्णरूपमा ध्वस्त भएका छन् भने ५ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

लगातारको वर्षातले साउन १४ गते साँझ ५ बजेतिर चारवटा घर भत्किँदा सोही ठाउँका अन्य पाँच घर पनि आंशिक रूपमा क्षतिग्रस्त भएका हुन्। मानवीय क्षति नभए पनि सम्पत्ति नष्ट

स्थानीयका अनुसार घर भत्किँदा मानवीय क्षति भने भएको छैन। तर, घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र अन्य उपभोग्य सामग्रीहरू पूर्णरूपमा नष्ट भएका छन्।

९ घर परिवार अहिले आफन्त तथा छिमेकीको शरणमा बसिरहेका छन्। पीडितहरूले हालसम्म कुनैपनि प्रकारको राहत नपाएको गुनासो गरेका छन्।

राहत वितरणमा ढिलाइ स्वीकार जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले राहत वितरणमा केही ढिलाइ भएको स्वीकार गरेका छन्। उनले भने,

“स्थानीय तह राहत कार्यविधि २०८१ अनुसार पालिकालाई पीडितलाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गरिएको छ।” जिल्ला प्रशासन कार्यालयले तत्काल राहत सामग्री तथा आवास सहयोगका लागि तयारी भइरहेको जनाएको छ।

Facebook Comments Box