मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या साढे सात लाख नाघ्यो

धनुषाधाम, १९ साउन – मधेस प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या सात लाख ७९ हजार नाघेको छ। साउन १६ गतेसम्म प्राप्त तथ्याङ्कअनुसार आठवटै जिल्लाबाट ७,७९,२६५ जनाले स्वास्थ्य बिमा गराइसकेका छन्।स्वास्थ्य बिमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाका अनुसार यो सङ्ख्या प्रदेशको कुल जनसंख्याको करिब १३ प्रतिशत हो। राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको जनसङ्ख्या ६१ लाख १४ हजार ६ सय छ।

कुशवाहाले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पहल भइरहेको जानकारी दिए। प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा सहिद परिवारका लागि विनियोजन गरेको ४० लाख रुपैयाँबाट केही सहिद परिवारलाई निःशुल्क बिमामा समावेश गरिएको छ। तर, सबै सहिद परिवारको यकिन विवरण नहुँदा पूर्ण समावेशीकरणमा कठिनाइ भएको बताइएको छ।

उनका अनुसार सरकारले सञ्चालन गरेका आधारभूत अस्पतालहरूलाई पनि बिमा सेवामा समेट्ने प्रयास भइरहेको छ। साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी तथा स्पाइनल इन्जुरीजस्ता गम्भीर रोगका बिरामीलाई प्रमाणको आधारमा अतिरिक्त एक लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध गराइएको छ।

नियमित रूपमा नवीकरण गर्ने सेवाग्राहीका लागि भुक्तानी शुल्कमा सहुलियत व्यवस्था पनि गरिएको छ। मधेस प्रदेशमा सन् २०७३ सालदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो भने २०७५ सालदेखि आठै जिल्लामा विस्तार गरिएको थियो। बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा दर्ता सहयोगी परिचालन गरेर नागरिकलाई घरमै पुगेर बिमामा सहभागी गराउने अभियान चलाइएको संयोजक कुशवाहाले जानकारी दिए।

Facebook Comments Box