प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ प्रयोगशाला सेवा सञ्चालन
पर्वत, १९ साउन – प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा नयाँ प्रयोगशाला परीक्षण सेवा सुरु गरिएको छ। अत्याधुनिक प्रविधिबाट सञ्चालनमा ल्याइएका यी सेवाबाट अब बिरामीले विभिन्न विश्लेषणात्मक परीक्षण जिल्लामै गराउन सक्ने भएका छन्। यसअघि यस्ता परीक्षणका लागि बिरामीलाई पोखरा वा अन्य ठूला सहर जानुपर्ने बाध्यता थियो। नयाँ सुविधा सुरु भएसँगै स्थानीयवासीले समय, खर्च र असहजताको समस्या हटेको अनुभव गर्न थालेका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाका अनुसार हाल सुरु गरिएका परीक्षण सेवामा भिटामिन डी, भिटामिन बी–१२, पीएसए, बी–एचसीजी, एन्टी–टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी–डीएसडीएनए, फेरिटिन, सीआरपी क्वान्टिटेटिभ, आरए क्वान्टिटेटिभ र रेटिकुलोसाइट काउन्ट परीक्षण समावेश छन्।
यी परीक्षणहरू विशिष्ट स्वास्थ्य समस्याको पहिचानका लागि महत्वपूर्ण हुने भन्दै डा. बाँस्तोलाले यस सुविधाबाट कुश्मा र आसपासका जिल्लाका सर्वसाधारणले उपत्यका वा अन्य सहर जानुपर्ने झन्झटविनै सेवा पाउने विश्वास व्यक्त गरे। प्रदेश अस्पताल पर्वतले पछिल्ला वर्षमा पूर्वाधार र सेवा विस्तारमा जोड दिँदै आएको छ। प्रयोगशाला सेवाको विस्तारले जिल्ला स्वास्थ्य प्रणालीलाई थप सबल बनाउने अपेक्षा गरिएको छ।

