जङ्गली जनावरको आतंकले किसान खेतबारीमै बस्न बाध्य
बैतडी, १९ साउन – जङ्गली जनावरको बढ्दो आतंकका कारण बैतडीका किसान खेतबारीमै टहरा बनाएर बस्न थालेका छन्। बँदेल, दुम्सी, बाँदर र भालुले मकैलगायतका अन्नबाली र तरकारी नष्ट गर्न थालेपछि किसानहरू रातभर पहरा दिन बाध्य भएका हुन्।
दोगडाकेदार गाउँपालिका निवासी चन्द्रसिंह विष्टका अनुसार मकैबाली जोगाउन रातदिन बारीमै बस्दा पनि बचाउन मुस्किल भइरहेको छ। भर्खरै घोगा लागेको मकै बँदेलले नष्ट गर्न थालेपछि भोकमरीको चिन्ता थपिएको पुर्चौडी नगरपालिका निवासी पुरनसिंह ऐरले बताए।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन, सूर्नया, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा रहे पनि मकैबाली जोगाउन किसानलाई कठिनाइ भएको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले जानकारी दिइन्।
पञ्चेश्वर–४ का किसान रामदत्त भट्टका अनुसार हरेक वर्ष दुई महिना अनिदो बसेर पनि मकैबाली जोगाउन नसकिएको अवस्था छ। बैतडीमा १२ हजार एक सय हेक्टर क्षेत्रफलमा मकैखेती गरिन्छ। तर, जङ्गली जनावरको कारण किसान मकैखेतीबाट विमुख हुँदै गएका छन् र कतिपयले खेत नै बाँझो राख्न थालेका छन्।

