वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेड्ने

भक्तपुर, १९ साउन – मध्यपुरथिमी नगरपालिका–४ बालकुमारीका ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिने भएका छन्। भाद्र शुक्ल पूर्णिमाको भोलिपल्ट साँझ, आगामी भदौ २२ गते उनले जिब्रो छेडेर महाद्वीप बोकेर पशुपतिनाथसम्मको यात्रा गर्ने जनाइएको छ। परम्परागत ‘जिब्रो छेड्ने जात्रा’ संरक्षणमा योगदान दिँदै आएका श्रेष्ठले २०७४, २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेका थिए।

यो जात्रा २०६३ सालदेखि रोकिएकोमा श्रेष्ठकै अगुवाइमा ११ वर्षपछि पुनः सुरु भएको थियो। बीचमा २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडे पनि, कोरोना महामारीका कारण जात्रा स्थगित भएको थियो। जात्रामा रु पाँच लाखभन्दा बढी खर्च हुने र नगरपालिकाको सहयोग अपुग हुने जात्रा संरक्षण समिति संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए।

किम्बदन्तीअनुसार थिमिमा भूतप्रेतको आतंक रोक्न प्राचीन कालमा एक व्यक्तिको जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो। त्यसयता रोग, अनिकाल र विपत्तिबाट बच्न यो जात्रा मनाउने परम्परा कायम छ। जात्राका दिन दिगु भैरव मन्दिरमा पूजा गरी, तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो जिब्रोमा छेडिने र बालकुमारी मन्दिरमा सियो निकालेर जात्रा समापन गरिने चलन रहेको छ।

Facebook Comments Box