भटौली खोलामा बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन पूर्णरूपमा बन्द
रामेछाप, १८ साउन – रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने भटौली खोलाको पक्की पुल बाढीले क्षति पुर्याएपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार राति परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले पुलको पकरबासतर्फको किनारमा कटान गरेपछि पुलको एक भाग जोखिममा परेको हो। कटानका कारण सडकको केही भाग भासिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो। उहाँका अनुसार दुई पाङ्ग्रे सवारीसाधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइएको छ।
सडक अवरुद्ध भएपछि नेपाली सेना र सशस्त्र प्रहरी बल बाटो खुलाउने प्रयासमा खटिएका छन्। प्रजिअ थापाका अनुसार मर्मतको प्रयास तीव्र पारिएको छ। पुलको जोखिम अवस्था देखिएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, तथा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूको टोलीले शनिबार स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिएको थियो।
तर स्थानीय वासिन्दाका अनुसार पहिले नै जानकारी दिइएको भए पनि बेवास्ता गरिएको थियो। स्थानीय केदारप्रसाद ढुङ्गेलले वर्षाले बनाइएका संरचनासमेत बगाएको जानकारी दिनुभयो। खाँडादेवी–४ का वडाध्यक्ष कृष्ण पौडेलले खोलामा कटान सुरु भएपछि सम्बन्धित निकायमा जानकारी गराइए पनि समयमा ध्यान नदिँदा समस्या भयावह बनेको बताउनुभयो।
रामेछापको तीन गाउँपालिकालाई मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौँ वैकल्पिक मार्गको रूपमा पनि प्रयोग हुँदै आएको छ। गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुङ्गाका धेरै सवारीसाधन यही बाटो प्रयोग गरेर राजधानी आवतजावत गरेका थिए। हाल पनि १५ टनभन्दा बढी भारवहन गर्ने सवारी यही बाटो प्रयोग गरिरहेका थिए। पुलमा क्षति पुगेसँगै ती सबै सवारीसाधनको आवागमन रोकिएको छ।

