लगातारको वर्षासँगै नदीहरूमा जलसतह बढ्दो, विभागको सतर्कता आग्रह
काठमाडौं, १८ साउन – देशका विभिन्न क्षेत्रहरूमा लगातार भइरहेको वर्षाका कारण नदीहरूको जलसतह उच्च हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले तटीय क्षेत्र र डुबानको सम्भावना रहेका भू–भागमा सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार, भक्तपुरको हनुमन्ते खोलामा कौशलटारस्थित जलमापन केन्द्रको जलसतह सतर्कता तहको आसपास पुगेको छ र अझै बढ्ने क्रममै रहेको छ। त्यस क्षेत्रमा नदी किनार तथा आसपास यात्रा गर्ने, बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
त्यसैगरी, रुकुमपश्चिमको ठूलो भेरी नदीमा रिम्ना जलमापन केन्द्रको जलसतह पनि सतर्कता तहमा पुगेको र जलप्रवाह अझै बढ्दै गइरहेको विभागले जनाएको छ। नदी आसपासका होचो भूभाग तथा डुबान हुने सम्भावित स्थानमा बिहानसम्म विशेष सावधानी आवश्यक रहेको सूचनामा उल्लेख छ।
म्याग्दी जिल्लाको म्याग्दी खोला अन्तर्गत मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने अवस्थामा पुगेको र भिरालो जमिन तथा पहाडी क्षेत्रहरूमा पहिरोको जोखिम रहेको विभागले चेतावनी दिएको छ। मध्यरातमा जारी गरिएको जानकारीमा विभागले कमजोर भू–संरचना भएका बस्तीहरू, नदी किनार, डुबान सम्भावित भूभाग र पहिरो सम्भावित स्थानहरूमा बास बस्नेहरूलाई सचेत रहन आह्वान गरेको छ।

