लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु
सिरहा, १७ साउन – लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्याङ्कीमार्फत पानी वितरण सुरु गरिएको छ।
विकन परियोजना र वाटरएडको सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले लहान खानेपानी संस्थानसँग समन्वय गरी दुई हजार लिटर क्षमताको ट्याङ्की प्रयोग गरेर पानी वितरण थालेको हो। विशेष गरी उत्तरी भेगका चापाकल सुकेका बस्तीलाई लक्षित गरी बोलेरो गाडीमार्फत पानी गाउँ–गाउँ पु¥याइएको छ।
नगरप्रमुख महेशप्रसाद चौधरीले पानी वितरण गर्दै तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर निःशुल्क पानी उपलब्ध गराइने जानकारी दिनुभयो। “खानेपानी मानव जीवनको आधार हो,” उहाँले भन्नुभयो, “आवश्यक भए कार्यक्रम थप लम्ब्याइनेछ।”
प्रभावित टोलमा करिब ६० घरपरिवार रहेका छन्। उनीहरूलाई गाग्री र बाल्टिनमार्फत पानी भरिदिने व्यवस्था मिलाइएको छ। क्लबका अध्यक्ष उमेश विसुङ्केका अनुसार विकन परियोजनाले रु २० लाख विनियोजन गरिसकेको छ र यो सेवा तीन महिनासम्म नियमित हुनेछ।
स्थानीय पूर्णबहादुर सार्कीले शुद्ध पिउने पानी पाएपछि राहत महसुस भएको बताए। तर, लुगा धुन, नुहाउन र गाईभैँसीलाई पानी खुवाउन भने अझै समस्या रहेको भन्दै उनीहरू अहिले आकाशे पानीको प्रतीक्षामा छन्।
लहान नगरपालिका–१३, १५, १६, १७ र १८ नम्बर वडामा पनि पानी संकट देखिएको जनाइएको छ। नगरपालिकाले आवश्यकतानुसार अन्य प्रभावित क्षेत्रमा पनि पानी वितरणको तयारी गरिरहेको छ।
खडेरीको असरले इनार, पोखरी, हाते पम्प र सिँचाइका मोटरहरू सुक्न थालेका छन्। लहान–१३ का ६५ वर्षीय कृषक जगबीर यादवले पछिल्ला छ दशकमा यस्तो खडेरी नभएको बताए। पर्यावरणविद् दिनेश यादवका अनुसार दीर्घकालीन समाधानका लागि चुरे क्षेत्रको संरक्षण अपरिहार्य भइसकेको छ।

