सङ्खुवासभामा बस दुर्घटना, १४ घाइते
सङ्खुवासभा, १७ साउन — सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
बा २ प ७२४४ नम्बरको उक्त बस लालीगुराँस नगरपालिका–१, देउराली घुम्तीमा सडकबाट करिब १० मिटर तल खसेको हो। दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते हुनेहरूमा सात वर्षदेखि ६२ वर्ष उमेरसम्मका यात्रु रहेका छन्। सबै घाइतेको स्थानीय बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ भने धर्मदेवी–९ का २३ वर्षीय सविन विष्टको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक धर्मदेवी–६ का खेम महत फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

