आज अपराह्नपछि काठमाडौँ उपत्यकामा क्षणिक वर्षा हुने सम्भावना

काठमाडौँ, २२ चैत – आजदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि देशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। ‘तर त्यस्तो ठूलो वर्षा हुँदैन, छिटपुट, क्षणिक वर्षा मात्र हुने सम्भावना छ’, उनले भनिन्, ‘अब दुई/तीन दिनलाई मौसम सुधार हुने देखिन्छ।’

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।मौसमविद् मानन्धरका अनुसार पहाडी भेगका एक/दुई स्थान भन्नाले देशभरका पहाडी क्षेत्रका जुनसुकै एक/दुई ठाउँमा पानी पर्नसक्छ भनिएको हो।

‘आज अपराह्नपछि काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षा हुने सम्भावना छ’, उनले भनिन्, ‘तर सम्भावना कमै छ।’ महाशाखाका अनुसार आज राति भने कतै वर्षाको सम्भावना छैन। राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

Facebook Comments Box