मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
सिन्धुली, १७ साउन – मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुली खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। सडकमा पहिरो र लेदो जमेकाले यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।
उहाँका अनुसार, गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण सडक अवरुद्ध भएको हो। राति परेको निरन्तर वर्षाका कारण ओखलढुङ्गाबाट काठमाडौं तर्फ जाँदै गरेको भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको ११ चक्के ट्रक हिलो, माटो र लेदोमा फसेको छ भने ट्रक निकाल्न पहल भइरहेको छ।
त्यस्तै, गोलञ्जोर गाउँपालिका–६ बलेनीस्थित सडक माथिबाट खसेको पहिरोले पनि बाटो अवरुद्ध भएको छ। यसको कारणले खुर्कोट–घुर्मी सडक खण्डमा गुड्ने सवारीहरू खुर्कोटमा रोकिएका छन्। ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर लगायतका पूर्वी जिल्लाबाट राजधानी हिँडेका सवारी साधन केही समय कुर्नुपर्नेछ। सडकमा खसेको पहिरो र लेदो हटाउन पहल भइरहेको छ। सिन्धुली क्षेत्रमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको प्रहरीले जनाएको छ।

