सन्दर्भ किसान नेता भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको यात्रा

कञ्चनपुर, १७ साउन : मृत्यु अटल सत्य भए पनि केही व्यक्तित्वको जीवनले समाजमा अमिट छाप छोड्छ। यस्ता महान् व्यक्तित्वमध्ये क्रान्तिकारी किसान नेता भीमदत्त पन्त पनि हुनुहुन्छ। साउन १७ गते देशभर विभिन्न कार्यक्रममार्फत सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइँदैछ। यो दिवस केवल सम्झनाको दिन नभई उनका विचार र आन्दोलनको पुनः स्मरण तथा कार्यान्वयनको आह्वान पनि हो।

डडेल्धुराको कारीगाउँमा विसं १९८३ मङ्सिर १० गते जन्मेका भीमदत्त पन्तले उत्तरप्रदेशको सिंहाइमा संस्कृत अध्ययन गरे। धार्मिक ग्रन्थ गीता र माक्र्सवादले उनको विद्रोही चेतना प्रज्वलित भयो। पेरवी समूहका अध्यक्ष नरिराम लोहारका अनुसार, “शिक्षाले पनि उनी विद्वान् मात्र होइनन्, सामाजिक न्यायका लागि समर्पित योध्दा बने। गीता र माक्र्सलाई आत्मसात् गर्दै उनले वर्गीय विभाजनमाथि प्रश्न उठाए।”

विसं २००७ देखि पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायविरुद्ध विद्रोहको झण्डा उठाए। विसं २००९ वैशाख २ गते घटालथानमा जातीय भेदभाव अन्त्य गर्दै ‘भीमदत्त कांग्रेस’को नाम कमाए। पूर्वसांसद निरा जैरूले भने, “उहाँले व्यवहारमै जातीय विभेद तोड्नुभयो, एउटै थालीमा सबै जातजाति बसेर खाने परम्परा सुरु गर्नुभयो।” पन्तले दलित, मगर, थारू लगायत उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गर्नुभयो।

हलिया नेता राजुराम भूलले, “भीमदत्तले हामीलाई नागरिक भएर अघि बढ्ने आत्मविश्वास दिनुभयो। उहाँ केवल नेता नभई हाम्रो आत्मसम्मानका संवाहक हुनुहुन्थ्यो।” उनको लोकप्रियताले ठालु र राज्यलाई डरायो र विसं २०१० साउन १७ गते गोली हानी हत्या गरियो। टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतंक सिर्जना गरियो। परिवार बहिष्कृत गरियो र अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो।

भूमि अधिकारकर्मी रामबहादुर चुनारा भन्छन्, “भीमदत्तको मृत्यु युगको अन्त्य थियो, तर विचारको शुरुवात पनि। उनका नाराहरू अझै सान्दर्भिक छन्।” उनले पन्तका भनाइ सुनाउँछन्, “कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो।”

विसं २०७२ फागुनमा सरकारले क्रान्तिकारी पन्तलाई सहिद घोषणा गर्यो। चुनारा भन्छन्, “उनको सपना तब पूरा हुन्छ जब भूमिहीन, सुकुम्बासी र बाढीपीडितलाई जग्गा दिइन्छ र सबै क्षेत्रमा न्याय, समानता र समावेशीता सुनिश्चित गरिन्छ।”भीमदत्त पन्त भौतिक रूपमा उपस्थित नभए पनि उनका विचार, सपना र बलिदानले भूमिहीनहरूको आवाजलाई मार्गदर्शन गर्दै आएको छ।

Facebook Comments Box