दक्षिणी इरानको विद्यालयमा आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु दाबी
काठमाडौँ, १७ फागुन – दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरको एक विद्यालयमा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको भनिएको मिसाइल आक्रमणमा कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले जनाएका छन्। देशभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक सार्वजनिक गरिएको छ। यद्यपि, यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
इरानका राष्ट्रपति मसूद पेजेस्कियानले विद्यालयमाथिको आक्रमणलाई ‘जंगली कार्य’ भन्दै आक्रमणकारीहरूले गरेका अपराधहरूको इतिहासमा अर्को कालो पानाका रूपमा टिप्पणी गर्नुभएको छ। तर इजरायल र अमेरिकाले भने विद्यालयलाई निशाना बनाइएको विषयमा पुष्टि गरेका छैनन्।
उक्त विद्यालय आईआरजीसीको क्याम्पबाट करिब ६०० मिटरको दूरीमा रहेको बताइएको छ। सो क्याम्प इजरायल र अमेरिकाको सम्भावित निशानामा परेको जनाइएको छ। एक स्थानीय अधिकारीका अनुसार विद्यालयमाथि तीनवटा मिसाइल खसेका थिए। घटनापछि जेनेभास्थित रेडक्रस तथा रेड क्रिसेन्टका अधिकारीहरूले उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्।
BBCले विस्फोटपछिका केही भिडियो क्लिप प्रमाणीकरण गरेको जनाएको छ। ती भिडियोमा एक भवनबाट धुवाँ निस्किरहेको, वरिपरि मानिसहरूको भीड र चिच्याइरहेको आवाज सुनिएको उल्लेख गरिएको छ। तर मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई इरानमा प्रायः भिसा नदिइने भएकाले तथ्य संकलनमा कठिनाइ हुने बताइएको छ।
घटनापछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। विदेशमा बस्ने एक इरानी नागरिकले युद्धको आलोचना गर्दै मिनाबका बालबालिका आक्रमणको पहिलो पीडित बनेको उल्लेख गरेका छन्। यद्यपि, इरानी शासनप्रति अविश्वास व्यक्त गर्दै केही प्रयोगकर्ताले विद्यालयमा बालबालिकाको मृत्युको जिम्मेवारी सरकारकै भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा इन्टरनेट र सञ्चार सेवा अवरुद्ध भएको तथा नागरिकलाई पर्याप्त सुरक्षा चेतावनी नदिइएको आरोपसमेत लगाइएको छ। उक्त घटना शनिबारभर अमेरिका र इजरायलले इरानका विभिन्न सहरमा हवाई आक्रमण गरिरहेको दाबी भइरहेका बेला भएको हो। यसैबीच अमेरिकी राष्ट्रपतिले प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता अली खामेनी र उनका वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन्।

