प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान प्रस्थान गर्दै
काठमाडौं, १६ साउन – प्रधानमन्त्री केपी शर्मा ओली आगामी आइतबार तुर्कमेनिस्तानको अवाजा सहरमा हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै छन्।
साउन २० देखि २३ गते (अगस्ट ५–८, २०२५) सम्म आयोजना हुने सम्मेलनमा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा हुँदैछ।
प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षको हैसियतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, उनी सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता पनि गर्ने छन्।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका वरिष्ठ पदाधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय सांसद सूर्यबहादुर थापा क्षेत्री तथा अन्य उच्च सरकारी अधिकारीहरू पनि सहभागी हुने छन्। उनी साउन २३ गते (अगस्ट ८) स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

