पत्रकारिता समालोचनात्मक हुन आवश्यक छः मुख्यमन्त्री कार्की

झापा, १६ साउन – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारितालाई नीतिगत रूपमा समालोचनात्मक र जनमुखी हुनुपर्नेमा जोड दिएका छन्।

प्रेस क्लब भद्रपुरको नयाँ कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रेसले ‘ठीकलाई ठीक र बेठीकलाई बेठीक’ भन्न सक्ने निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए।

“पत्रकारिता केवल समाचार सङ्कलन गर्ने पेशा होइन, यो समाज रूपान्तरणको सशक्त माध्यम हो,” उनले भने, “इतिहासले पत्रकारिताबाट सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको प्रमाणित गरिसकेको छ। आजको पत्रकारिता जनताको आवाज बुलन्द बनाउने दायित्वमा समर्पित हुनुपर्छ।”

उनले सरकारका राम्रा कार्यहरूको प्रचारप्रसारसँगै गलत क्रियाकलापहरूको आलोचना गर्ने पत्रकारिता नै लोकतन्त्रको मेरुदण्ड भएको पनि उल्लेख गरे।

कार्यक्रममा झापाका दुईजना वरिष्ठ पत्रकार—गोविन्दचन्द्र क्षेत्री र नकुल काजीलाई दीर्घकालीन सेवा सम्मान प्रदान गरिएको थियो। साथै प्रेस क्लबलाई आर्थिक तथा अन्य सहयोग गर्ने सहयोगीहरूलाई पनि सम्मान गरिएको थियो।

Facebook Comments Box