प्रदेश सरकारले पैतृक सम्पत्तिमा लाग्ने कर बढायो
मुगु, १६ साउन – कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिको नामसारी (अंशबन्डा) गर्दा लाग्ने कर दर उल्लेख्य रूपमा बढाएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा अन्तर्गतको राजस्व शीर्षकमा कर वृद्धिको घोषणा गरेको हो।
मालपोत कार्यालय मुगुका निमित्त प्रमुख जगत रोकायाका अनुसार, अघिल्लो व्यवस्था अनुसार:
-
रु ३० लाखसम्मको सम्पत्तिमा ०.२ प्रतिशत
-
रु ३० लाखदेखि दुई करोडसम्ममा ०.३ प्रतिशत
-
दुई करोडभन्दा माथिको सम्पत्तिमा ०.५ प्रतिशत
राजस्व लाग्थ्यो।
तर, चालु आर्थिक वर्षमा उक्त दर बढाएर नगरपालिका क्षेत्रका लागि:
-
रु ३० लाखसम्ममा १.५ प्रतिशत
-
रु ३० लाखदेखि दुई करोडसम्ममा २ प्रतिशत
-
दुई करोडभन्दा माथिमा २.५ प्रतिशत
तोकिने गरी कर दर पुनःनिर्धारण गरिएको छ।
गाउँपालिका क्षेत्रमा भने यो दर थोरै कम छ:
-
रु ३० लाखसम्ममा १ प्रतिशत
-
रु ३० लाखदेखि दुई करोडसम्ममा १.५ प्रतिशत
-
दुई करोडभन्दा माथिमा २ प्रतिशत
लाग्ने व्यवस्था गरिएको छ।
सेवाग्राहीहरूले कर दर शतप्रतिशतभन्दा बढी बढाइएको भन्दै गुनासो गरेका छन्। छायानाथ रारा नगरपालिका–२ चैन गाउँका नवराज चौलागाईंले अंशबन्डा गर्न मालपोत कार्यालय जाँदा मात्रै कर दर बढेको जानकारी पाएको र सो सुनेपछि प्रक्रिया अगाडि नबढाई फर्किएको बताएका छन्।

