पर्यटकले बदलिदिए गोठालाको जीवनशैली, ढोरपाटनको गोठमै आम्दानीको स्रोत

बागलुङ, १५ साउन – बागलुङको ढोरपाटन पर्यटकीय क्षेत्रमा पर्यटकको चाप बढेसँगै स्थानीय गोठालाहरूको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। पदमार्ग हुँदै बुकीपाटन पुग्ने आन्तरिक तथा विदेशी पर्यटकहरूको आगमनले गोठमै बस्ने, खाने र घुम्ने चलन बढेपछि गोठालाहरूको दैनिकी नै परिवर्तन भएको छ।

स्थानीय उत्पादनबाट चिया–नास्ता, खीर, घ्यू, मोही, दही र भेडाको मासु जस्ता परिकार पर्यटकलाई उपलब्ध गराउँदै आएका गोठालाहरूले गोठमै आम्दानी गर्न थालेका छन्। पर्यटकहरूले भैँसीको दूधको चिया, खीर र मोहीको स्वाद लिँदै स्थानीय जीवनशैलीको अनुभव गर्न थालेपछि ‘गोठ पर्यटन’ले बिस्तार पाउन थालेको छ।

७२ वर्षीय गोठाला देवबहादुर विकका अनुसार, पहिले घ्यू मात्र बिक्री गरेर मही फाल्ने चलन थियो, तर अहिले मोहीसमेत बिक्री हुन थालेको छ। “अब घ्यू बोकेर ढोरपाटन जानु पर्दैन, पर्यटकहरू आफैँ गोठमै आइपुग्छन्,” विकले भने, “खीर पकाएर खुवाउँछु, मोही बेचिन्छ, पैसा यत्तिकै आउँछ।”

बिच बाटोको चेप्टेढुङ्गामा चिया बिक्री गर्दै आएका गुमानसिंह कुमाईको गोठमा त दैनिक सय गिलाससम्म चिया खपत हुने गर्छ। तीन भैँसी र ६० बाख्रा पालेका कुमाईले प्रतिगिलास रु १०० मा चिया बेच्दै आएका छन्। “दूधको चिया निकै मन पराउँछन् पर्यटक, अब घ्यू र दही बनाउने झन्झटै छैन,” उहाँले मुस्कुराउँदै भन्नुभयो।

ढोरपाटन क्षेत्रमा हालै एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएको देखिएको छ। प्रचार–प्रसार, पदयात्रा मार्ग विस्तार, बुकी र जलजलामा पूर्वाधारको विकास तथा ‘घोडा सफारी’, घरबास र गोठमै बस्ने सुविधाका कारण यहाँको पर्यटन अझै आकर्षक बन्दै गएको छ।

पहिले मुख्यतः सिकार खेल्न मात्र आउने विदेशीहरू हाल आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, ढोरबराह मन्दिर, निशेलढोर, बुकीपाटन र जलजला जस्ता गन्तव्य अवलोकनका लागि पनि आउने गरेका छन्। समुद्री सतहदेखि २,९०० मिटरको उपत्यकादेखि ४,००० मिटर उचाइसम्म पुग्ने पर्यटकको चापले गोठालाको परम्परागत जीवनशैलीमा नयाँ सम्भावना थपेको छ।

Facebook Comments Box