बजार नपाउँदा कागती बारीमै, कृषक मल्ल निराश
तनहुँ, १५ साउन – तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका छन्। तर, उत्पादनको अन्तिम चरणमा पुगेको कागतीले बजार नपाउँदा उहाँ निराश हुनुभएको छ।
२० रोपनी जमिनमा ५०० भन्दा बढी कागतीका बोट लगाएका मल्लका अनुसार, अहिले उत्पादन बजारसम्म लैजान कठिन भएको छ। “बारीसम्म गाडी पुग्दैन, मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत बढ्छ। त्यसमाथि उचित मूल्य पनि छैन,” मल्लले गुनासो गर्नुभयो।
स्थानीय बजारमा माग नहुँदा मल्लले काठमाडौँको कालीमाटी तरकारी बजारसम्म पुगेर व्यापारीसँग सम्पर्क गर्नुभएको छ। “बारीमै कुहिनु भन्दा काठमाडौँमा केही सस्तो भए पनि बिक्री गर्न सके राहत मिल्छ भन्ने आशा छ,” उहाँले भन्नुभयो।मल्लले ३० केजीभन्दा बढी कागती किन्न चाहनेलाई बारीमै आएर छानीछानी टिप्न दिने प्रस्ताव गरेका छन्।
उहाँको भनाइमा, “गाउँपालिकाले बजार व्यवस्थापनमा सहयोग गरेको भए कृषकलाई यति चिन्ता हुँदैनथ्यो। स्थानीय तहले कृषकलाई प्रोत्साहन गर्नुपर्छ।” बजार अभावमात्र होइन, मल्लको खेतीमा प्राकृतिक प्रकोपले पनि क्षति पुर्याएको छ। गत जेठ १ र २ गते आएको हावाहुरीले करिब ५० बोट कागती नष्ट गरेको छ।
सात वर्षअगाडि देशमै केही गरौँ भनेर कागतीखेती सुरु गरेका मल्लले न त राहत पाएका छन्, न त संरक्षणको भरोसा। “हावापानीले हरेक वर्ष केही न केही नोक्सान गर्छ, तर कतैबाट राहत छैन,” मल्लको पीडा छ।

