हुम्लाको चङ्खेलीमा अज्ञात रोग फैलिँदा ३० भन्दा बढी पशुवस्तु मरे
हुम्ला, १५ साउन – हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा अज्ञात रोग फैलिँदा एक साताको अवधिमा ३० भन्दा बढी पशुवस्तुको ज्यान गएको छ। साउन ८ गतेपछि सुरु भएको उक्त रोगका कारण स्थानीय कृषकहरू ठूलो क्षतिको सामना गरिरहेका छन्।
स्थानीय हरिबहादुर शाहीका अनुसार, संक्रमित पशुवस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, तथा ¥याल काढ्ने लक्षण देखिएको छ। अहिलेसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना गाई, ९ गाई र १४ भन्दा बढी गोरु मरेका छन्। अझै पनि खर्क क्षेत्रमा एक भैँसी गम्भीर बिरामी अवस्थामा पालभित्र राखिएको छ भने अन्य गाईगोरु पनि थला परेका छन्। संक्रमित पशुवस्तु मर्ने क्रम नरोकिएपछि खर्क क्षेत्रको जंगलमै दुर्गन्ध फैलिएको स्थानीयको गुनासो छ।
रोगको प्रभाव सोही खर्कमा मात्र सीमित नभई आसपासका अन्य गाउँका खर्कहरूमा पनि देखिएको छ। स्थानीयले दिएको जानकारी अनुसार १०० भन्दा बढी पशुवस्तु हाल बिरामी छन्। पशुपालकहरू औषधोपचारका लागि गाउँपालिकाको पशुशाखामा पुगे पनि त्यहाँ पशु स्वास्थ्यकर्मीको अभावले थप समस्या भएको छ।
स्थानीय प्रचलनअनुसार कृषकहरूले हिउँदको तयारीस्वरूप घाँस सङ्कलन गर्ने, बर्खेबाली जोगाउने र गर्मीमा हुने रोग टार्नका लागि पशुवस्तु खर्कतिर लाने गर्छन्। तर, अज्ञात रोगको यो प्रकोपले यो अभ्यासमै संकट उत्पन्न भएको छ।

