अल्टिमेटमपछि बासिन्दाहरू आफैं बस्ती खाली गर्न थाले
काठमाडौं, १२ वैशाख – सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित तथा अतिक्रमित बस्ती हटाउने अभियान आजदेखि सुरु गर्ने तयारी गरेको छ। शनिबार र आइतबार गरी दुई दिनमा बस्ती खाली गराउने योजना बनाइएको छ।
सरकारले दिएको अल्टिमेटमपछि बासिन्दाहरू आफैं बस्ती खाली गर्न थालेका छन्। शुक्रबार साँझदेखि नै उपत्यकाका विभिन्न सुकुमवासी बस्तीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। शनिबार बिहानैदेखि सुकुमवासीहरूले आफ्ना टहरा भत्काउँदै सामान सुरक्षित स्थानतर्फ सार्न थालेका छन्। केही स्थानमा जबर्जस्ती हटाउन लागिएको भन्दै विरोधका आवाजसमेत उठेका छन्।
यसबीच प्रधानमन्त्री बालेन शाहले सुकुमवासीहरूको व्यवस्थापन विकल्पसहित गरिने बताएका छन्। तर बस्ती खाली गरिरहेका बासिन्दाहरूले आफूहरूका लागि उचित विकल्प नदिइएको र बस्ने ठाउँको अभाव रहेको गुनासो गरेका छन्।

