आज राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ, ११ साउन – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ बजेर १५ मिनेटमा नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख गरिएको छ।
यस्तै, आज पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछन्।
-
अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ। चालु आर्थिक वर्षको बजेट सिफारिसको समावेशी अवस्था र आयोगले भोगेका समस्या–चुनौतीबारे पनि छलफल गरिनेछ।
-
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’मा परेका संशोधनका बारेमा संशोधनकर्तासँग छलफल हुनेछ।
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सन्दर्भमा विज्ञहरूसँग अन्तरक्रिया गर्नेछ।
-
सार्वजनिक लेखा समितिले महालेखापरीक्षकको ६१औँ र ६२औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ।
-
र, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माणको प्रगति र मन्त्रालयको तयारीबारे छलफल हुनेछ।

