भोजपुर–लेगुवा सडकको मर्मतमा लापरबाही : टालिएको कालोपत्र कामकै क्रममा उप्कियो

भोजपुर, १० साउन – भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने ६६ किलोमिटर लामो भोजपुर–लेगुवा मुख्य सडक मर्मतमा लापरबाही देखिएको छ। विगतमा कालोपत्र गरिएको सडकमा खाल्डा देखिएपछि मर्मत थालिएको हो। तर मर्मतकै क्रममा टालिएको भाग पुनः उप्किन थालेपछि स्थानीयले कामको गुणस्तरप्रति गम्भीर शंका व्यक्त गरेका छन्।

स्थानीय सरबहादुर श्रेष्ठका अनुसार, “खाल्डा पुर्ने काम भइरहेको छ तर पुरेका ठाउँ केही समयमै भत्किएका छन्। यस्तो मर्मत गुणस्तरीय देखिँदैन। कामको प्रभावकारी अनुगमन आवश्यक छ।” सडक मर्मत सडक डिभिजन कार्यालय तुम्लिङटारको मातहतमा भइरहेको हो।

विभिन्न स्थानमा सडक भत्किएर सवारी आवतजावतमा जोखिम बढेपछि मर्मत थालिएको थियो। तर मर्मतपछि पनि समस्या उस्तै रहँदा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। सडकको गुणस्तरीय मर्मत र नियमित अनुगमनको माग गर्दै स्थानीयले चेतावनी दिइरहेका छन् कि खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम थपिएको छ।

Facebook Comments Box