बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको लागि कांग्रेसभित्र घम्साघम्सी

काठमाडौँ, ९ साउन – बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र मुख्यमन्त्रीको कुर्सीलाई लिएर चर्को अन्तरद्वन्द्व देखिएको छ। वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध आज शुक्रबार कांग्रेसकै २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

सँगै कांग्रेसका चार मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री लामाले एक वर्षअघि पद सम्हाल्दा कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिअनुसार इन्द्रबहादुर बानियाँसँग आधा–आधा समय मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको छ। तर सहमति कार्यान्वयन नगरेको भन्दै बानियाँ पक्ष आक्रामक बनेको हो।

सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र पर्यटन मन्त्री विमल ठकुरीले हेटौंडा बाहिर रहेका मुख्यमन्त्रीलाई ह्वाट्सएपमार्फत राजीनामा बुझाएका छन्।

सांसद इन्द्रबहादुर बानियाँले लामाको नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र जवाफदेहीता नभएको आरोप लगाएका छन्।

मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका २१ जना सांसदले इन्द्रबहादुर बानियाँलाई नै नयाँ मुख्यमन्त्री बनाउने सर्तमा समर्थन जनाएका छन्। यससँगै बागमतीको सत्ता समीकरण फेरिन सक्ने संकेत देखिएको छ।

Facebook Comments Box