वीरगञ्ज नाकाबाट दुई हजारभन्दा बढी विद्युतीय सवारीसाधन आयात

पर्सा, ९ साउन – पर्साको वीरगञ्ज नाका हुँदै गएको आर्थिक वर्षमा दुई हजार ३३७ थान साना र ठूला विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधनको मूल्य करिब एक अर्ब ६४ करोड रुपैयाँ बराबर रहेको छ भने राजस्वतर्फ एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी संकलन भएको छ।

भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले इन्धनचालित सवारीहरूकै आयात अझै बढी भए पनि विद्युतीय सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढ्दै गएको जानकारी दिनुभयो।

गत वर्ष १६ थान विद्युतीय जिप, कार र भ्यान मात्र १२ करोड मूल्य बराबरमा आयात गरिए पनि तीव्र क्षमताका सवारीहरू समेत उल्लेख्य परिमाणमा भित्रिएको भन्सार कार्यालयले जनाएको छ।

यसै अवधिमा ५१ देखि २०० किलोवाट क्षमतासम्मका ८६ थान सवारीसाधन आयात भएका छन् भने सबैभन्दा धेरै — एक हजार ८२१ थान — विद्युतीय मोटरसाइकल भित्रिएको छ, जसको कुल मूल्य ४३ करोड रुपैयाँभन्दा बढी रहेको छ। त्यस्तै, २०१ देखि ३०० किलोवाट क्षमताका १६ थान कार, जिप र भ्यान पनि वीरगञ्ज नाकाबाट आयात गरिएको जनाइएको छ।

Facebook Comments Box