जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे अन्तिम १६ मा

काठमाडौं, १६ असार – चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान सम्पन्न राउण्ड अफ ३२ को रोमाञ्चक खेलमा दक्षिण अमेरिकी टोली पाराग्वेले जर्मनीलाई सडन डेथसम्म पुगेको पेनाल्टी सुटआउटमा ४–३ ले हराएको हो।

पाराग्वेका जोसे कानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। विश्वकप इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो अवसर हो। सन् २००२ को विश्वकपको अन्तिम १६ मा जर्मनीसँग पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यस हारको बदला पनि लिएको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल पनि हो। पेनाल्टी सुटआउटमा पाराग्वेका माउरिसियो, गुस्ताभो गोमेज, माथियास गालार्सा र जोसे कानालेले गोल गरे। जर्मनीका कप्तान जोसुआ किमिख, जमाल मुसियाला र नादिएम अमिरीले मात्र गोल गर्न सके।

जर्मनीका काई हाभर्ट्ज र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले बचाए भने छैटौं पेनाल्टी प्रहार गरेका जोनाथान टाहको प्रहार पोस्टमाथिबाट बाहिरियो। त्यसपछि जोसे कानालेले निर्णायक गोल गर्दै पाराग्वेको जित सुनिश्चित गरे। यसअघि खेलको ४२औं मिनेटमा जुलियो एन्सिसोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। जर्मनीका लागि काई हाभर्ट्जले ५४औं मिनेटमा बराबरी गोल फर्काए।

अतिरिक्त समयको १०२औं मिनेटमा जोनाथान टाहले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) ले फल भएको ठहर गर्दै गोललाई मान्यता दिएन। सन् २०१४ मा विश्वकप उपाधि जितेपछि जर्मनीले विश्वकपको नकआउट चरणमा जित निकाल्न सकेको छैन। पछिल्ला दुई संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी यसपटक १२ वर्षपछि नकआउट चरणमा पुगे पनि पहिलो खेलमै पराजित हुँदै घर फर्किएको हो।

यता, पाराग्वेले विश्वकप इतिहासमा दोस्रोपटक नकआउट चरणको खेल जितेको हो। यसअघि सन् २०१० को विश्वकपमा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे क्वार्टरफाइनल पुगेको थियो। यसपटक भने उसले पूर्वविश्वविजेता जर्मनीलाई हराएर अर्को ऐतिहासिक सफलता हात पारेको छ। अब पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box