भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतबाट फर्काइए, गृहमन्त्रीले छानबिनको निर्देशन

काठमाडौँ, ९ साउन – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ। एनओसी (अनिवार्य स्वीकृति प्रमाणपत्र) बिना कुवेत जान लागेका ती महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएको हो।

त्यसपछि स्थलमार्ग हुँदै बिहीबार राति सुनौली नाका पार गरेर उनीहरूलाई रूपन्देही पुर्‍याइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव घिमिरेले जानकारी दिनुभयो। दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई दूतावासको जिम्मामा लिएर सुनौली हुँदै नेपाल ल्याएको थियो। अहिले उनीहरूलाई काठमाडौँ पठाइएको छ।

यस घटनापछि उपत्यका भित्र्याइएका महिलाहरूको अवस्थाबारे थप अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिनुभएको छ। गृहमन्त्री लेखकले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई घटनाको गम्भीरता बुझ्दै दोषीको पहिचान गरी कारबाही गर्न भनेका छन्। गृह मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका नाममा भिजिट भिसाको दुरुपयोग हुँदै मानव तस्करी हुन सक्ने जोखिम बढेकाले यस्ता घटनामा गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको छ।

Facebook Comments Box