अत्यधिक मदिरा सेवनले झापामा दुई जनाको मृत्यु

झापा, ८ साउन – झापामा अत्यधिक मदिरा सेवनका कारण दुई जनाको मृत्यु भएको छ। एक जनाको शव कनकाई नगरपालिकाको सडक किनारमा र अर्काको शव विर्तामोडस्थित सुङ्गुर फार्ममा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार कनकाई–४ स्थित सडक किनारमा शिवसताक्षी नगरपालिका–११ का ६० वर्षीय चन्द्र शिवाकोटीको शव बिहीबार बिहान फेला परेको हो। हाल कनकाई–४ मा बसोबास गर्दै आएका शिवाकोटी ज्यालादारीमा घर रंगरोगनको काम गर्दै आएका थिए। उनी अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति भएको स्थानीयले जानकारी दिएका छन्।

त्यसैगरी, विर्तामोड नगरपालिका–६, शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा कार्यरत ६५ वर्षीय डम्बरबहादुर मगरको शव खोरभित्र फेला परेको प्रहरीले जनाएको छ। भारतको सिक्किम घर भएका मगर स्थानीय सरोज लावतीद्वारा सञ्चालित फार्ममा सुङ्गुरलाई चारो खुवाउने तथा खोरको रेखदेख गर्ने काममा संलग्न थिए।

“दुवै जनाले अत्यधिक मदिरा सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए, “दुवैको शव अलग–अलग स्थानमा मृत अवस्थामा फेला परेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

हालैको केही दिनयता तापक्रम बढेर झापामा गर्मी अत्यधिक भएको जनाउँदै प्रहरीले अत्यधिक मदिरा सेवनपश्चात सुतेको अवस्थामा उनीहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ।

शिवाकोटीको शव सडक छेउमा खाली खुट्टा भुइँमा पल्टिएको अवस्थामा भेटिएको थियो भने मगरको शव खोरभित्र घोप्टो परेको अवस्थामा फेला परेको थियो।

Facebook Comments Box