विमल घर्तीकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित
काठमाडौं, १५ माघ – विमल घर्ती मगरले गरेकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित गरेकाे छ । शनिबार दशरथ रंगशालामा भएकाे खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टकाे पासमा गाेल गरे ।
२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नाेभेम्बरमा म्यानमार विरुद्ध पछिल्लाे पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चाेटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलाे राेजाइमा अवसर दिए । उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाए ।
नेपालका लागि विमलकाे याे नवाैँ गाेल हाे । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लाे पटक गाेल गरेका थिए ।
यस्तै यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलाे राेजाईमा खेल्दा जगजित दाेस्राे हाफमा मैदान प्रवेश गरेका थिए । शनिबारको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् ।
पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाएपनि सदुपयाेग गर्न सकेन । पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयाेग गर्न सकेनन् । यसैगरी सुनिल बलकाे फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएकाे थियाे ।
नेपालले दाेस्राे हाफमा थप दुई गाेल गर्ने अवसर गुमाएकाे थियाे । अञ्जन विष्टको हेडर बारमा लागेर फर्किँदा जगजित श्रेष्ठकाे हेडर माेरिससका गाेलकिपर कप्तान केभिनले बचाए । नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

