एनआरएनए अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित
टेक्सास (अमेरिका), ८ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाको नेतृत्वका लागि तय गरिएको निर्वाचनमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार सबै उम्मेदवारलाई निर्विरोध घोषणा गरेको हो।
निर्वाचन कार्यतालिका अनुसार आगामी जुलाई २७ र २८ तारिखमा निर्वाचन गरिने भनिएको थियो। तर, सबै पदमा एक-एक मात्रै उम्मेदवारी परेपछि निर्वाचन आवश्यक नपरेको आयोगले जनाएको छ। सुरुमा केही पदमा एकभन्दा बढी उम्मेदवारी परे पनि नेतृत्व सर्वसम्मत बनाउन संघका अगुवाहरूले प्रयास गरेपछि अन्ततः सबै पदमा एकल उम्मेदवार कायम गरिएको आयोगले जनाएको छ।
निर्विरोध निर्वाचित पदाधिकारीहरू
निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन्। उपाध्यक्षमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ र थलविर ओली छन्। महिला उपाध्यक्षमा शान्ति पौड्याल र युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन्।
त्यस्तै महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा संगीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुंगाना, सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना, महिला संयोजकमा सावित्रा सिवाकोटी र युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएका छन्।
दुई निर्वाचन मिति, दुई पक्ष
एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने बाध्यताका कारण ICC ले विशेष निर्वाचन समिति गठन गरी निर्वाचन सम्पन्न गरेको हो।
तर अर्काे समूहले निर्वाचन मिति अगस्ट १७ र १८ तोकेको छ। वासु फुलाराको नेतृत्वमा रहेको उक्त समूहले संघ अमेरिकामा सामाजिक संस्था स्वरूप दर्ता भएकाले ICC वा परराष्ट्र मन्त्रालयको निर्देशन बाध्यकारी नभएको जिकिर गर्दै छुट्टै निर्वाचन प्रक्रियामा अघि बढेको छ।
दुई पक्षबीचको मतभेदका कारण एनआरएनए अमेरिकाको निर्वाचन दुई फरक मितिमा हुँदैछ। ICC को विवाद र गुटबन्दीको प्रभाव अमेरिकाको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा स्पष्ट देखिएको छ।

