भोटखोलामा पहिरो: पाँच परिवार विस्थापित, एक घर पूर्ण क्षति
सङ्खुवासभा, ७ साउन – सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मङ्गलबार राति गएको पहिरोले पाँच परिवार विस्थापित भएका छन्। पहिरोमा ढुङ्गामाटोसहितको ठूलो ढिस्को खस्दा एक घर पूर्णरूपमा क्षति भएको छ भने अर्को घर आंशिक क्षतिमा परेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार पहिरोले विस्थापित गराएका परिवारमा लिलाबहादुर श्रेष्ठ (७ सदस्य), लाप्साङ शेर्पा (४), मुस्कान शेर्पा (५), सुब्बा श्रेष्ठ (३) र रञ्जना श्रेष्ठको परिवार रहेका छन्।
अध्यक्ष भोटेले रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षतिग्रस्त भएको जानकारी दिनुभयो। स्थानीय युवाहरू, स्याक्सिला गोला प्रहरी चौकी र गाउँपालिका नेतृत्वको समन्वयमा पीडित परिवारलाई सुरक्षित स्थानमा अस्थायी रूपमा सारिएको छ।
हाल विस्थापित परिवारको पुनःस्थापना प्रक्रिया सुरु गरिएको छ भने थप क्षति रोक्नका लागि सतर्कता अपनाउन भोटखोला गाउँपालिकाले अपिल गरेको छ।

