काठमाडौँ जिल्ला अदालतमा कानुनी सहायता केन्द्र स्थापना
काठमाडौँ, ५ साउन – जिल्ला अदालत काठमाडौँमा आजदेखि वैतनिक वकिल तथा कानुनी सहायता तथा परामर्श केन्द्र सञ्चालनमा आएको छ। अदालत परिसरमै स्थापना गरिएको यो केन्द्रको औपचारिक उद्घाटन आज सम्पन्न भयो।
उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलप्रसाद पोखरेलले न्यायमा सबैको पहुँच सुनिश्चित गर्नका लागि यो केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “अशक्त तथा आर्थिक रूपमा विपन्न नागरिकका लागि निःशुल्क कानुनी सहायता दिन अदालतमै कार्यकक्ष स्थापना गरिएको हो। अब वैतनिक वकिल नपाइने गुनासो रहने छैन।”
पहिले देखिनै अदालतमा एक जना वैतनिक वकिल र एक कानुनी सहायता अधिकृतको व्यवस्था भए पनि उनीहरूलाई भेट्न कठिन हुने गुनासो रहँदै आएको थियो।
सोही समस्यालाई सम्बोधन गर्दै अदालतले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कम्तीमा एक अधिकृत केन्द्रमै उपस्थित हुने व्यवस्था सहित नयाँ सहायता केन्द्र सञ्चालनमा ल्याएको हो।
सहायता केन्द्रबाट आर्थिक विपन्नता, अपाङ्गता वा अन्य कुनै कारणले कानुनी सेवा आवश्यक पर्ने व्यक्तिहरूलाई निःशुल्क बहस, पैरवी र परामर्श सेवा प्रदान गरिनेछ।
जिल्ला अदालत काठमाडौँमा दैनिक झन्डै आठ हजार सेवाग्राहीको भीड हुने गरेको पृष्ठभूमिमा यस्तो केन्द्रले सेवाग्राहीको पहुँच र सहजता बढाउने अपेक्षा गरिएको छ।

