बाढीपहिरोले गण्डकी प्रदेशका विभिन्न राजमार्ग प्रभावित
काठमाडौँ । बाढी र पहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार केही सडकखण्ड एकतर्फी सञ्चालनमा रहे पनि केही स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा गत असोज १० गते गएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
यस्तै, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्तीमा असोज १४ गते गएको पहिरोले कालीगण्डकी करिडोर प्रभावित भएको छ। उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा रहे पनि साना सवारीसाधन मात्र चल्न सक्ने र ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
यसैगरी, गोरखाको आरुघाट गाउँपालिकाका वडा नम्बर २ र ३ तथा वडा नम्बर ९ को नयाँपुल क्षेत्रमा असोज २५ गते बिहान आएको बाढीका कारण सोतीस्थित फलामे पुलमा क्षति पुगेको छ। बाढीका कारण गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

