देवघाटमा बोलबम मेला: स्नान गर्न भक्तजनको घुइँचो

भरतपुर, ५ साउन – साउन महिनाको पहिलो सोमबारको अवसरमा आज बिहानैदेखि चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न भक्तजनहरूको ठूलो भिड लागेको छ। साउन महिनाको सोमबारका दिन विशेषगरी व्रत बसेका श्रद्धालुहरू पवित्र जल र बेलपत्र चढाएर भगवान् शिवको आराधना गर्छन्।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार आजको मेलाका लागि भक्तजनहरू बिहान ४ बजेदेखि नै देवघाट आइपुगेका छन्। कतिपय श्रद्धालु आइतबार साँझ नै पुगेका थिए। बिहानै स्नान गरेर शिवपूजा गरी जल लिएर गएका भक्तजनसँगै अहिले देवघाट क्षेत्रमा ठूलो घुइँचो लागेको छ।

बोलबम मेलाका अवसरमा महाकालेश्वर मन्दिर (भरतपुर), कैलाशनाथ महादेव (चितवन), गोपेश्वर मन्दिर (गैँडाकोट), कालिका, माडी, रत्ननगर लगायतका विभिन्न शिवालयहरूमा पनि पूजा–आराधना तथा मेलाको रौनक देखिएको छ। यो मेलालाई बोल ओम् मेलाका रूपमा पनि चिनिन्छ।

मेलामा सहभागी भक्तजनहरू प्रायः पहेँलो वस्त्रमा, खाली खुट्टा स्नानका लागि आएका छन्। महिलाहरू हरियो चुरा, कपडा र मेहन्दीमा सजिएर पूजामा सहभागी भइरहेका छन्। देवघाटधाम चितवन, तनहुँ र नवलपरासीको संगमस्थल हो। यहाँ नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत श्रद्धालुहरू आउने गर्छन्। यसवर्ष मेलालाई प्लास्टिकमुक्त बनाउने अभियान सञ्चालन गरिएको समितिले जनाएको छ।

धूमपान, मद्यपान र प्लास्टिक प्रयोग पूर्ण निषेध गरिएको छ। अबिर, अक्षता र धूपबत्ती प्लास्टिकमा ल्याउँदा नदी प्रदूषित हुने भएकाले भविष्यमा कडाइका साथ नियन्त्रण गरिने समितिका निर्देशक बरालले बताए। स्थानीय मोहन पोखरेलका अनुसार, “देवघाटको पवित्र जल र बेलपत्र चढाएर शिवको पूजा गर्दा मनोकामना पूरा हुने र परिवारमा सुख–शान्ति प्राप्त हुने जनविश्वास रहेको छ।”

यस मेला अवधिभर प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने, साउनभर आउने भक्तजनको तथ्याङ्क सङ्कलनको काम पनि गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।

Facebook Comments Box