काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौँ, ३ साउन – काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने कक्षा ११ र १२ का लागि छात्रवृत्ति प्रवेश परीक्षा आज शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुँदैछ। परीक्षा दिँदै १६ हजार १३७ विद्यार्थी तयारी अवस्थामा छन्।

महानगरले आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीलाई लक्षित गरी विगत तीन वर्षदेखि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको हो। शैक्षिक सत्र २०८२/८३ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि असार १८ गतेदेखि आवेदन खुला गरिएको थियो। असार २७ गतेसम्म १७ हजार ९२९ जनाले आवेदन दिएका थिए।

तर आवश्यक कागजात नजोडिएकाले १ हजार ९२ जनाको आवेदन अस्वीकृत भएको छ। बाँकी १६ हजार १३७ विद्यार्थी आज परीक्षा दिँदै छन्। यीमध्ये विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापनका ४ हजार १६४, मानविकीका ३२, शिक्षा संकायका ९५ र कानुन संकायतर्फ २५६ जनाले सहभागिता जनाउनेछन्।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित छ। गणित, विज्ञान र अंग्रेजीबाट ३०–३० र सामान्य ज्ञानबाट १० गरी कुल १०० बहुवैकल्पिक प्रश्न रहनेछन्। न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ। महानगरका अनुसार परीक्षामा सफल भएकाहरूलाई मेरिट आधारमा छात्रवृत्ति दिइनेछ। गत वर्ष १२ हजार आवेदन परेका मध्ये ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए। यसपालि आवेदन संख्या करिब ३० प्रतिशतले बढेको छ।

महानगरले यो वर्ष कम्तीमा तीन हजार पाँचसय विद्यार्थीलाई छात्रवृत्ति दिने लक्ष्य राखेको छ। भर्ना हुने विद्यार्थी संख्याका आधारमा अन्तिम छनोट गरिनेछ। परीक्षा निष्पक्ष र मर्यादित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण गरिएको छ। प्रश्नपत्रको गोप्यता, उत्तरपुस्तिकाको सुरक्षा, विद्यार्थी परिचय प्रमाणीकरण र अनुशासन कायम राख्न कडाइ गरिएको छ।

परीक्षामा लागू मुख्य नियमहरू:

– प्रवेशपत्र अनिवार्य, सुरक्षा जाँचका लागि एक घण्टा अघिनै उपस्थित हुनुपर्ने
– मोबाइल, क्यालकुलेटर, स्मार्ट वाच, कपी–चिट लैजान निषेध
– कालो जेल पेन अनिवार्य, OMR शीट सही तरिकाले भर्नुपर्ने
– नक्कल, नक्कली परीक्षार्थी वा अनुशासन उल्लंघन गरेमा परीक्षा रद्द तथा कानुनी कारबाही
– निर्धारित समयपछिसम्म बाहिर जान नपाइने, उत्तरपुस्तिका बुझाएर मात्रै बाहिरिने

परीक्षा मर्यादा उल्लङ्घन गरिएमा परीक्षा रद्द हुने स्पष्ट चेतावनीसहित महानगरले सबै विद्यार्थी र अभिभावकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box