सिँचाइमा क्षति पुग्दा खेतबारी बाँझिए
पाँचथर, ३२ असार – तमोर कोरिडोर अन्तर्गतको ट्रयाक खोल्ने क्रममा क्षति पुगेपछि पाँचथरको कुम्मायक गाउँपालिका–४, शिवादोभान क्षेत्रका खेतबारी बाँझिन थालेका छन्। सिँचाइ सुविधा नहुँदा उत्पादनमा गिरावट आउँदा स्थानीयको जीविकोपार्जनमा समेत असर परेको छ।
एक दशकअघि कोरिडोरको ट्रयाक खोल्दा शिवादोभानको मुख्य सिँचाइ स्रोत टारी कुलोमा क्षति पुगेको थियो। त्यसयता बर्सेनि सडक ट्रयाक विस्तारका नाममा खोलिएको माटो कुलोमा थुप्रिँदा सिँचाइ अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ। स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार डेढ किलोमिटर लम्बाइको सो कुलो एक दर्जनभन्दा बढी परिवारको खेतीपातीको आधार हो।
विगतमा सरकारबाट रु १५ लाख र निर्माण कम्पनीबाट रु २ लाख सहयोगमा केही पक्की संरचना बनाइएको भए पनि हरेक वर्षको ट्रयाक खोलाइका कारण माटोले कुलो पुरिने समस्या ज्यूँका त्यूँ छ। “बर्षमा तीन बालीसमेत लगाइन्थ्यो, अहिले मकै पनि राम्रो हुन्न, कुलो बिग्रिएपछि बाँझो बस्नुपरेको छ,” स्थानीय ललितबहादुर सम्बाहाम्फेले बताउनुभयो।
उहाँका अनुसार सिँचाइ नहुँदा अब दाउरा र पानीबाहेक सबै सामग्री बजारबाट किन्नुपर्ने बाध्यता भएको छ। सिँचाइ अभावको असर फिदिम नगरपालिका–४ सरखण्डे, फिदिम–९ लुम्फाबुङ र कुम्मायक–४ रानीगाउँ आसपासका खेतबारीमा परेको छ। यस्ता खेत अब उत्पादन बाहिर गएका छन्।
वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेका अनुसार निर्माण कम्पनीले सडक निर्माणमा ढिलाइ गर्दा समस्या झन जटिल बन्दै गएको हो। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु २ लाख ५० हजार बजेट सिँचाइ कुलो मर्मतका लागि विनियोजन गरे पनि हालसम्म काम सुरु हुन सकेको छैन। स्थानीयले दीर्घकालीन समाधानको माग गरिरहेका छन्। तर अहिलेसम्म स्थायी पुनःनिर्माण नहुँदा क्षेत्रको कृषि प्रणाली नै संकटमा परेको छ।

