चार देशीय टी-२० सिरिज : नेपालले आज ओमानसँग खेल्दै

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको चार देशीय टी-२० सिरिज आजदेखि ओमानमा सुरु हुँदैछ ।

नेपालले घरेलु टोली ओमानसँग आज पहिलो खेल खेल्नेछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल र ओमानसँगै आयरल्याण्ड र युएई समावेश चार देशीय सिरिजमा सबैले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

चार वटै टिम ग्लोबल क्वालिफायर ए मा छन् । क्वालिफायर ए मा रहेका ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा तथा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी समूह ‘बी’ मा छन् ।

क्वालिफायरको आफ्नो पहिलो खेलमा पनि नेपालले ओमानसँग नै खेल्नेछ । त्यसैले क्वालिफायरअघि दुवै टिमलाई यो सिरिज एक्सपोजरको मौका हुनेछ । विशेषगरी नयाँ कप्तान युवा खेलाडी र केही नयाँ अनुहारसहित ओमान पुगेको नेपाली टोलीका लागि चार देशीय सिरिजको तीन खेल एक्सपोजर प्राप्त गर्ने हुनेछ ।

Facebook Comments Box