निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौँ, ३१ असार — वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई चलचित्र विकास बोर्डले ‘चलचित्र दीर्घसाधना सम्मान २०८२’ प्रदान गरेको छ। सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा निर्देशक शर्मालाई सम्मान गरेका हुन्।

सम्मानसहित उहाँलाई नगद रु ३ लाख ७५ हजार पनि प्रदान गरिएको थियो। चलचित्र क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका शर्माको सम्मानले सम्पूर्ण फिल्मकर्मी समुदायलाई प्रेरणा दिने बोर्ड अध्यक्ष डिसीले बताए। उनका अनुसार, “चलचित्रकर्मीको कामलाई प्रोत्साहन गर्न हामीले यो समारोह आयोजना गरेका हौं। अध्यक्ष बनेपछि मैले चलचित्र ऐन सुधार, स्टुडियो निर्माण र बक्स अफिस कार्यान्वयनजस्ता महत्वपूर्ण काम पूरा गरेको छु।”

समारोहमा विशेष योगदान सम्मान अन्तर्गत मरणोपरान्त स्वर्गीय प्रकाश व्यवस्थापक श्रवण मास्केलाई रु ५० हजार नगदसहित सम्मान गरियो। उहाँको तर्फबाट उहाँका भाइ सञ्जिव मास्केले सम्मान ग्रहण गरे। अन्य ‘विशेष योगदान सम्मान’ प्राप्त कलाकार तथा प्राविधिकहरूमा अभिनेता निखिल उप्रेती, अभिनेत्री सुरक्षा पन्त, वरिष्ठ अभिनेता उत्तम केसी, निर्देशक प्रेम सुब्बा, गायिका देविका बन्दना, छायाँकार दीर्घ गुरुङ,

नाट्यकर्मी अनुप बराल, निर्देशक पर्शुराम चौधरी र प्रदर्शक नकिम उद्दीन रहेका छन्। यिनीहरूलाई नगदबिना सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी, २०८१ सालमा प्रदर्शन भएका चलचित्रहरूमध्ये नौ विधामा चलचित्र पुरस्कार पनि प्रदान गरिएको छ। यसअन्तर्गत नगद रु २५ हजारसहित सम्मानित हुने कलाकार तथा प्राविधिकहरू निम्नानुसार छन्:

  • उत्कृष्ट चलचित्र: शाम्बाला

  • उत्कृष्ट अभिनेता: विजय बराल (पूर्णबहादुरको सारङ्गी)

  • उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)

  • उत्कृष्ट निर्देशक: मिनबहादुर भाम (शाम्बाला)

  • उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की)

  • उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान (पीताम्बर)

  • उत्कृष्ट लेखक: दिपकराज गिरी (छक्का पञ्जा–५)

  • उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: गालय् वन (नेवारी भाषा)

  • प्रोत्साहन पुरस्कार: अभिनेता प्रदीप खड्का (पुजार सार्की)

यस्तै, ‘विशेष चलचित्र पुरस्कार’ अन्तर्गत लिम्बू भाषाको चलचित्र याक्कथुङ र मगर भाषाको चलचित्र दिलसरा लाई जनही रु २ लाख नगदसहित सम्मान प्रदान गरिएको छ। चलचित्र पुरस्कारको निर्णय कलाकार रमेश बुढाथोकीको संयोजकत्वमा रहेको पाँच सदस्यीय निर्णायक समिति मार्फत गरिएको थियो। समितिमा करुण थापा, एनबी महर्जन, सुचित्रा श्रेष्ठ र दीपेन्द्रकुमार खनाल सदस्य थिए।

Facebook Comments Box