सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत पुग्यो

पाल्पा, ३१ असार – राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७.५१ प्रतिशत पुगेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माणाधीन यो सुरुङमार्गको ब्रेक थ्रु भएसँगै कामले तीव्रता पाएको हो।

सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीका अनुसार वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ। हालसम्म सुरुङको मुख्य टनेलको भुइँ भाग (इन्भर्ट) एक हजार ८९ मिटर निर्माण सकिएको छ भने दायाँबायाँको लाइनिङ कार्य ८३४ मिटर सम्पन्न भएको छ। थप २९२ मिटरमा लाइनिङको काम जारी रहेको बताइएको छ।

इञ्जिनियर ज्ञवालीका अनुसार सुरुङभित्र तीनवटा बाइपास टनेलहरू बनाइएका छन्। पहिलो बाइपास १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर लामो छ। यसमध्ये पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ सकिएको छ। तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र ३० मिटर लाइनिङ कार्य सम्पन्न भइसकेको छ।

सुरुङमार्ग दुई लेनको हुनेछ जसको लम्बाइ १,०८९ मिटर, चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ। इन्भर्ट र लाइनिङको काम सम्पन्न भएपछि आगामी एक–दुई महिनाभित्र लाइटिङ, सञ्चार तथा सुरक्षा उपकरण जडान सुरु गरिने आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो।

हाल सुरुङमार्गमा अत्यावश्यक सवारीसाधन ओहोरदोहोर गर्न सक्ने अवस्था बनिसकेको छ। आयोजनाको प्रगतिमा सघाउन र निगरानी गर्न जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवाला पक्षबाट नियमित अनुगमन भइरहेको छ। प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले सुरुङको समयमै सम्पन्नताका लागि जनप्रतिनिधिको भूमिकासमेत महत्त्वपूर्ण रहेको बताउनुभयो।

यो आयोजनाको निर्माण सन् २०७९ सालदेखि सुरु गरिएको हो। मुख्य सुरुङमार्गको ब्रेक थ्रु सम्पन्न भइसकेको छ। चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु ७ अर्ब ३४ करोड २१ लाख ४० हजार लागतमा निर्माण गरिरहेको उक्त सुरुङमार्ग आव २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

सुरुङमार्ग बनाइएको खण्ड — सिद्धबाबा मन्दिर क्षेत्र — विगतमा बारम्बार पहिरो खस्ने उच्च जोखिमयुक्त क्षेत्र हो। सुक्खायाममा समेत धुले पहिरो झर्ने भएकाले यो मार्गमा सुरक्षाका लागि सुरुङमार्ग निर्माण गरिएको हो। सो खण्डमार्फत गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र म्याग्दी जिल्लामा यातायात आवागमन भइरहेको छ।

Facebook Comments Box