आकाशे पानीको भरमा सर्लाहीमा धान रोपाइँ प्रभावित
सर्लाही, २९ असार – सर्लाहीका किसान यतिबेला आकाशतर्फ हेर्दै पानीको प्रतीक्षा गरिरहेका छन्। असार महिनामा पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ सुरु गर्न नपाएको गुनासो उनीहरूको छ। हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ विगतदेखि नै एक बिघा खेतमा आकाशे पानीको भरमा खेती गर्दै आउनुभएको छ।
तर यो वर्ष असारको सुरुमै हल्का पानी परेको भए पनि ब्याड राख्ने समयमा वर्षा नहुँदा धानको बीउ राम्रोसँग अंकुरिएको छैन। “पानी नपरेपछि बीउ ढिलो भयो, अहिले रोपाइँ झनै गाह्रो भएको छ”, तामाङले बताउनुभयो। त्यस्तै, लालबन्दी नगरपालिका–५ जब्दीका किसान दीपक घिमिरे पनि खेतमा पानी पटाउन नहर वा कुलोको सुविधा नभएको कारण आकाशे पानीमै निर्भर हुनु परेको बताउनुहुन्छ।
उहाँले भन्नुभयो, “डिपबोरिङको पानी तरकारीका लागि मात्र पुग्छ, धान रोप्न सकिँदैन।” जिल्लाको धेरैजसो क्षेत्र सिँचाइ सुविधाविहीन भएको कारण खेती पूर्णरूपमा आकाशे पानीमा निर्भर छ। किसानहरू भन्छन्, “सिँचाइ नहुँदा सिजन चुक्यो भने उत्पादन नै गुम्छ।”
जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार, गत वर्ष यस समयमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष मात्र ३५ प्रतिशत धान रोपाइँ भएको छ। सिँचाइको अभाव र समयमै बीउ राख्न नसक्नु यसको प्रमुख कारण हो। उहाँले भन्नुभयो, “धेरै किसानले पहिलोपटक राखेको बीउ खडेरीले नष्ट गर्यो, दोस्रोपटक राखेको अझै तयार छैन।”
धान रोपाइँ ढिलो हुँदा उत्पादनमा पनि ह्रास आउने सम्भावना रहेको उहाँको भनाइ छ। बागमती, बरहथवा, धन्कौल, हरिवन, लालबन्दी र हरिपुर जस्ता सिँचाइ सुविधा भएका क्षेत्रमा मात्र केही मात्रामा रोपाइँ भएको छ। सर्लाहीमा झण्डै ४६ हजार हेक्टरमा धान खेती हुने गर्छ, तर करिब ५० प्रतिशत क्षेत्रफलमा अझै सिँचाइ सुविधा पुगेको छैन।
किसानहरू इनार, डिप ट्युबेल वा रोअल पम्पको प्रयोगबाट अन्य बाली त लगाउँछन्, तर धानको लागि आवश्यक पानीको जोहो सम्भव छैन। बागमती नगरपालिका–११ का किसान शंकर सापकोटा भन्नुहुन्छ, “मानो रोपेर मुरी फलाउने हाम्रो आशा तुहिँदै छ। यो वर्षको अन्न जोहो संकटमा पर्न सक्ने देखिएको छ।”
यसैबीच, मधेस प्रदेश सरकारले यस वर्ष मधेसलाई ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणा गरेको छ। प्रदेशस्तरीय मन्त्रिस्तरीय बैठकले संघ सरकारसँग सुक्खा राहत माग गर्ने निर्णय गरे पनि किसानहरू त्यसबाट के लाभ हुने हो भन्नेबारे अन्योलमा छन्।

