सार्वजनिक बाँझो जमिनमा आलु खेती, कोसेलीघरमार्फत सुपथ मूल्यमा बिक्री

खोटाङ, २९ असार – जन्तेढुङ्गा गाउँपालिकाका किसानहरूले सार्वजनिक बाँझो जमिनको उपयोग गर्दै यस वर्ष ६ हजार केजीभन्दा बढी आलु उत्पादन गरेका छन्। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त १५ लाख रुपैयाँ सशर्त बजेट अन्तर्गत गाउँपालिकाले ७ लाख रुपैयाँको लगानी गरी फागुन महिनामा ६१ रोपनी बाँझो जमिनमा आलुखेती सुरु गरेको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयहरूको श्रमदानमा आधारित उक्त खेतीमा आलु असार १२ देखि २७ गतेसम्म खनिएको रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिनुभयो। उत्पादित आलु चिसापानी बजारमा सञ्चालनमा ल्याइएको ‘कोसेली घर’मा भण्डारण गरिएको छ।

असार १८ गतेदेखि सुपथ मूल्य पसलमार्फत प्रतिकेजी रु ५५ मा बिक्री सुरु गरिएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले बताउनुभयो। “कृषि शाखाबाट कुपन लिएर आउने ग्राहकलाई कुपनकै आधारमा आलु बिक्री गरिन्छ,” उहाँले बताउनुभयो, “हालसम्म १,१०६ केजी आलु बिक्री भइसकेको छ। आम्दानी गाउँपालिकाको आन्तरिक स्रोतमा जम्मा गरिनेछ।”

आलुखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत ११ टन आलुको बीउ निःशुल्क वितरण गर्न रु ८ लाख खर्च गरिएको गाउँपालिकाले जनाएको छ। बाँकी बजेट तथा श्रमदान प्रयोग गरी भञ्ज्याङखर्कमा खेती गरिएको हो। खेतीका लागि गाउँपालिकाका दुईवटा मिनी टिलर प्रयोग गरिएको थियो।

गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’का अनुसार, खेतीमा करिब रु ३ लाख बराबरको श्रमदान संकलन भएको छ। खुमल सेतो र स्थानीय जातको आलुसँगै मकैखेती पनि गरिएको छ। उत्पादन भएका सानातिना आलु बीउका रूपमा छुट्याएर आगामी साउनदेखि सञ्चालनमा आउने चिस्यान केन्द्रमा भण्डारण गरिनेछ।

भोजपुर सिमाना नजिकैको भञ्ज्याङखर्कमा आगामी वर्ष पनि आलुखेती निरन्तरता दिने योजना गाउँपालिकाले बनाएको छ। यसका लागि भैँसी खरिद गरेर गोबर मल उत्पादन गर्न बजेट छुट्याइएको डम्बर्खुशिवालय वडा कार्यालयले जनाएको छ।

गाउँपालिकाले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राख्दै आव २०८२/८३ का नीति, कार्यक्रम र बजेट पारित गरिसकेको छ। प्रमुख प्रशासकीय अधिकृत विनय निरौलाका अनुसार, निर्वाहमुखी खेती प्रणालीमा रहेको समुदायलाई प्रोत्साहनसहित व्यावसायिक कृषि प्रणालीमा रूपान्तरण गर्ने योजना बनाइएको छ।

Facebook Comments Box