चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा
काठमाडौँ, २८ असार- लगातारको वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानहरू पहिरोको उच्च जोखिममा परेका छन्। विशेषगरी वडा नं १, २ र ३ बढी जोखिमयुक्त रहेका छन् भने पहिल्यै पहिरो गएको अन्य वडाहरूमा समेत पुनः जोखिम बढेको स्थानीय प्रशासनले जनाएको छ।
नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्र अर्यालका अनुसार गत वर्ष असोजमा गएको पहिरोबाट प्रभावित वडा नं १, २, ३, ५ र ९ का केही स्थानमा पुनः जोखिम देखिएको छ। यस वर्ष वडा नं २ सबैभन्दा उच्च जोखिममा रहेको र अघिल्लो वर्ष सोही क्षेत्रमा दुई जनाको ज्यान गएको स्मरण गर्दै उहाँले सचेत रहन आग्रह गर्नुभयो।
“नगरका करिब दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लास्टिक पठाइएको छ,” अर्यालले भन्नुभयो। उहाँका अनुसार पहिरोको जोखिम भएका स्थानहरूको प्रारम्भिक पहिचान भइसकेको छ भने दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियरिङ प्रविधिको तयारी भइरहेको छ।
वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिका क्षेत्र अति संवेदनशील भएको जानकारी दिनुभयो। उहाँका अनुसार डोजर प्रयोग गरी विकास निर्माण गर्दा भू-क्षय भएको र त्यसै कारण पहिरोको जोखिम बढेको हो।
वडा नं २ की स्थानीय अम्बिका सञ्जेलले जथाभावी डोजर चलाइएकाले घरमै पहिरो खस्न थालेको बताउँदै तत्काल सहयोगको माग गर्नुभएको छ। “विकासको नाममा डोजर चलाएर जमिन भत्काउँदा यस्तो समस्या आएको हो,” उहाँले भन्नुभयो।
वडा नं ५ को राधाकृष्ण टोलमा झण्डै १०० मिटर सडक खोलामा खसिसकेको छ भने कर्बड हल निर्माणका क्रममा माटो खोस्रिएपछि थप पहिरो गएको स्थानीय बासिन्दाको भनाइ छ।
यसैबीच, वडा नं ९ मा अवस्थित शान्ति स्तूपाबाट कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरो अझै व्यवस्थापन हुन सकेको छैन। प्रारम्भिक रोकथामका प्रयास भए पनि दीर्घकालीन समाधानका लागि अझै समय लाग्ने अर्यालले जानकारी दिनुभयो।
नगरप्रमुख घनश्याम गिरीले आकस्मिक विपद् व्यवस्थापनका लागि चालु वर्षमा तीन करोड रुपैयाँ बजेट छुट्याइएको बताउनुभयो। उहाँले जोखिम न्यूनीकरणका लागि भिरालो क्षेत्रमा वृक्षरोपण र प्रविधि प्रयोगमार्फत बायो इञ्जिनियरिङ गर्ने योजना रहेको जानकारी दिनुभयो। “अबदेखि प्राविधिक परीक्षण बिना डोजर चलाउन नदिइने छ,” नगरप्रमुख गिरीको भनाइ छ।

