प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पतालको उद्घाटन

इलाम, २८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकामा नव निर्माण सम्पन्न माई नगर अस्पतालको शनिबार उद्घाटन गर्नुभएको छ। माई नगरपालिका–२ दानाबारीमा रहेको सो अस्पताल १५ शय्याको क्षमता सहित निर्माण गरिएको हो।

नगर प्रमुख खम्बासिंह लिम्बूका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको अस्पतालको निर्माण कार्यमा सङ्घीय सरकारको सहयोगमा करिब रु १० करोड ७० लाख खर्च भएको हो। साढे १० रोपनी क्षेत्रफलमा फैलिएको दुई तले भवनमा पार्किङको समेत व्यवस्था गरिएको छ।

अस्पताल उद्घाटनसँगै शनिबारदेखि नै सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालमा २४ घण्टा सेवा प्रवाहको व्यवस्था मिलाइएको छ।

अस्पतालमा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसीजी, फार्मेसी लगायतका सेवा उपलब्ध छन्। साथै, अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पनि लागू गरिएको छ।

नगर प्रमुख लिम्बूले नगरवासीलाई आवश्यक पर्ने आधारभूत उपचार सेवा नगरपालिका भित्रै उपलब्ध गराउने र जटिल खालका केसहरूमा अन्य सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

Facebook Comments Box