म्याद थप्दा पनि सम्पन्न भएन जैमिनी नगरपालिकाको प्रशासकीय भवन
बागलुङ, २८ असार – बागलुङको जैमिनी नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवन म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण व्यवसायीको लापरवाहीका कारण तीन वर्षको अवधि सकिएर थप गरिएको म्यादमा समेत काम अधुरो रहेको हो।
२०७८ माघ २१ गते रविना/प्राकृतिक/जुगल जेभी सँग रु ८ करोड १७ लाख ६५ हजारको लागतमा सम्झौता भएको यो भवन २०८१ पुस १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य थियो। तर, सम्झौताअनुसारको तीन वर्षको म्याद सकिएपछि थप गरिएको ६ महिनाको म्याद (असार १७) मा पनि भवनको प्रगति ७० प्रतिशत मात्र पुगेको छ।
साढे चार तले भवनको ढलान सकिएर अहिले इटालगाउने काम भइरहेको छ। तर, मुस्किलले एक दर्जन कामदार मात्रै खटिएको नगरपालिकाका इञ्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो। “निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन पनि नदिएको अवस्था छ,” उहाँले भन्नुभयो।
नगरप्रमुख नरबहादुर पुनले निर्माण व्यवसायीलाई पटक–पटक दबाब दिँदा पनि कामको प्रगति सन्तोषजनक नभएको बताउनुभयो। “तीन वर्षमा ५५ प्रतिशत मात्र काम भएको थियो। म्याद थपेर ६ महिनामा बाँकी काम सक्ने भनिए पनि जम्मा १५ प्रतिशत मात्र प्रगति भयो,” उहाँले भन्नुभयो, “अब यो विषय कार्यपालिकामा लैजाँदैछौं।”
पुनका अनुसार अहिलेको गति हेर्दा भवन निर्माण सकिन अझै दुई वर्ष लाग्न सक्छ। निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि नरेश ओझाले निर्माण सामग्री ढुवानी र समयमै भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको दाबी गर्नुभएको छ।
कुश्मीशेरा केन्द्रमा स्थानीयले निःशुल्क दिएको आठ रोपनी जग्गामा निर्माण भइरहेको यो सुविधा सम्पन्न भवनमा ४२ वटा कोठा र विद्युतीय भर्याङ रहनेछ। भवनमा नगरपालिकाका सबै विषयगत शाखाहरू अटाउने व्यवस्था गरिँदैछ। हाल नगरपालिकाले चारवटा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ। आफ्नै भवन निर्माण भएपछि वार्षिक लाखौं रुपैयाँ बराबरको भाडा खर्च बचत हुने अपेक्षा गरिएको छ।

