बाढीको त्रास: लठ्ठागौरीका बासिन्दा वनमा त्रिपाल टाँगेर बस्न बाध्य

कञ्चनपुर, २८ असार – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीका वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनीको बाढीको त्रासले वर्षात् सुरू हुनासाथ नजिकैको वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन्। टेकबहादुर सलामी थापा मगर विगत सात वर्षदेखि परिवारसहित वन क्षेत्रमा अस्थायी आवास बनाएर बस्दै आउनुभएको छ।

डोटीको जोरायलमा पहिरोले घर बगाएपछि कञ्चनपुर आएका उहाँले नदी किनारमै थोरै जमिन किने पनि बाढीको जोखिमबाट भने जोगिन सकेका छैनन्। “वर्षात् सुरू भएलगत्तै सुरक्षित स्थानतर्फ सर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो। थापाजस्तै सोही बस्तीका थप छ परिवार पनि प्रत्येक वर्ष वर्षात् सुरू हुनुअगावै वन क्षेत्रमा सरेर अस्थायी त्रिपालमा बस्न थाल्छन्। उनीहरू दैनिक मजदुरी गरेर जीवन यापन गर्छन्।

डडेल्धुराको आलितालबाट विस्थापित भई त्यहीँ बसोबास गर्दै आएकी सितादेवी बोहराले पनि बाढीले आफूहरूको अवस्था अझ पीडादायी बनाएको बताउनुभयो। “तीन वर्षअघि त बाढीले घरभित्रको अन्नदेखि बाख्रा–गोरुसम्म बगाएर लग्यो,” उहाँले सम्झिनुभयो।

स्थानीय राजुराम लुहारले पनि बाढीको जोखिमले घरमै बस्न नसकिने बताउँदै भन्नुभयो, “चुरेमा पानी परेपछि बाढी घरसम्मै आउँछ, त्यसैले राति वनतिर जानुपर्छ।” वर्षात् नहुँदा उनीहरू घरमै फर्किएर खेतीपाती तथा घरको काम गर्छन्, तर रात बिताउन भने वनमै जान्छन्।

यस वर्ष वडा कार्यालयले सात परिवारलाई फलामको पाइप र बलियो प्लास्टिकको छानोयुक्त अस्थायी आवास निर्माण गरिदिएको वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिनुभयो। “अब ती परिवार केही हदसम्म सुरक्षित र व्यवस्थित रूपमा बस्न सक्नेछन्,” उहाँले भन्नुभयो।

Facebook Comments Box