मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
काठमाडौँ, २८ असार – नेपाल–चीन सीमास्थित मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर यात्रा गर्न चाहने तीर्थयात्रीहरू समस्यामा परेका छन्। पर्वतीय पर्यटन व्यवसायीको संस्था ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) ले यसबारे चिन्ता व्यक्त गर्दै वैकल्पिक नाका खोल्न माग गरेको छ।
टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ कि गत मङ्गलबार बिहान लेहेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाउँदा रसुवागढी नाका हुँदै चीनको तिब्बत स्वशासित क्षेत्रतर्फ जान चाहने नेपाली र विदेशी तीर्थयात्री तथा पर्यटकहरू रोकिएका छन्।
टानले तातोपानी, कोरोला र हिल्सा नाकाबाट वैकल्पिक रूपमा मानसरोवर यात्रा सहज बनाउने वातावरण तयार गर्न चीन सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ। टानका अध्यक्ष सागर पाण्डेले यात्रुको चाप रहेको समय भएकाले तीर्थयात्रीहरूलाई सहज रूपमा भिसा प्रदान गर्न नेपालस्थित चिनियाँ दूतावाससँग पहल गर्न र कैलाश यात्रा छिटो सुचारु गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नुभएको छ। टानले बाढीका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै हराएकाहरूको तत्काल खोजी गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

