बागलुङमा बाढीले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति
बागलुङ, २६ असार – बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा मङ्गलबार राति आएको बाढीले करिब एक अर्ब चार करोड रुपैयाँ बराबरको क्षति गरेको प्रारम्भिक अनुमान गरिएको छ। कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजना पूर्ण रूपमा बगाएको छ।
आयोजनामा मात्रै झन्डै दुई करोड रुपैयाँ बराबरको क्षति भएको र त्यसका कारण १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएको उपप्रमुख हरिहर शर्माले जानकारी दिए। बाढीले रु ३५ लाख लागतमा बनेको पुल बगाएको छ भने केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मर पनि क्षतिग्रस्त भएको छ। बाढीले वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेतहरू बगरमा परिणत गरेको छ।
साथै, छ घर पहिरोको उच्च जोखिममा, पाँच घर र दुई गोठ जोखिममा, र एक गोठमा रहेको गोरु मरेको जनाइएको छ। कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने सडक अवरुद्ध भएको छ भने १० वटा सिँचाइ कुलोमा क्षति पुगेको छ। समग्रमा विभिन्न संरचना, कृषि र पशुपालनमा भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार कुल क्षति करिब १ अर्ब ४ करोड रुपैयाँ बराबरको रहेको जनाइएको छ।

