आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ, २६ असार – आज आषाढ शुक्ल पूर्णिमाका दिन देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती श्रद्धापूर्वक मनाइँदैछ। गुरुप्रति श्रद्धा, कृतज्ञता र सम्मान प्रकट गर्ने परम्पराअनुसार, शिक्षा, दीक्षा र वेदमन्त्र प्रदान गर्ने गुरुजनको योगदान स्मरण गर्दै विभिन्न विद्यालय, शिक्षालय तथा संस्थाहरूले विशेष कार्यक्रम आयोजना गरेका छन्।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार “गु” को अर्थ अन्धकार र “रु” को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी प्रकाशले नाश गर्ने व्यक्तिलाई गुरु भनिन्छ। हिन्दू शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको रूपमा चित्रण गरिएको छ। श्लोक:

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।

यस अवसरमा, गुरुजनलाई देवतासरह सम्मान गर्ने परम्परा अन्तर्गत ‘आचार्यदेवो भव’ भनिन्छ। साथै, आजकै दिन व्यास जयन्ती पनि मनाइँदैछ। वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए। मानवतावादी दृष्टिकोण प्रस्तुत गर्दै व्यासले लेखेका श्लोक:

“अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्।
परोपकारः पुण्याय, पापाय परपीडनम्।।

अर्थात् परोपकार पुण्य हो, अरूलाई दुःख दिनु पाप हो भन्ने सन्देश दिनुभएको हो। महाभारतजस्तो विश्वप्रसिद्ध महाकाव्यका रचयिता व्यासको सम्मानमा आज देशभर गुरुकुल, शिक्षालय र अन्य संस्थाहरूले गुरु पूर्णिमा तथा व्यास जयन्ती मनाइरहेका छन्।

Facebook Comments Box